चर्को भाडा असुलेर रातिराति काठमाडौँबाट यात्रु ओसार्दै यातायात व्यवसायी
- Get link
- X
- Other Apps
चर्को भाडा असुलेर रातिराति काठमाडौँबाट यात्रु ओसार्दै यातायात व्यवसायी
‘हामी ड्युटी गर्ने हो, माथिको आदेश भएपछि रोकतोक गर्न सक्ने कुरा पनि भएन । गाडीहरु राती बाक्लै संख्यामा बाहिरिने गरेका छन्’, उनले भने ।
उनका अनुसार यसरी यात्रु पठाउँदा न पास हुन्छ न सवारी साधनमा स्वास्थय सावधानी नै अपनाइएको हुन्छ । असुरक्षित र पास बिनाकै भएपनि ती गाडी निर्वाध रुपमा गन्तव्यसम्म पुग्ने गरेका छन् ।
यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासहित महासंघका केही पदाधिकारी चर्को रकम असुलेर यात्रुलाई बाहिर पठाउने कार्यमा संलग्न छन् भने सो कार्यमा केही ट्राफिक अधिकारीले नै सघाइरहेको स्रोतको भनाइ छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकाललाई समेत गुमराहमा राखेर यात्रु पठाउने काम भइरहेको छ । आइतबार रातिमात्र ५० भन्दा बढी भाडाका सवारी साधनलाई कलंकी र कोटेश्वर नाकाबाट बाहिर पठाइएको थियो ।
गएराति गाडीमा रौतहट पुगेका एक यात्रुले आफूले अरुबेला भन्दा तेब्बर बढी भाडा तिरेर आएको बताए । तर गाडीमा कोरोनाको सम्भावित जोखिमबारे केही सावधानी नअपनाएको भन्दै उनले निकै समस्या भएकाले चर्को भाडा तिरेरै रौतहट आएको उनले बताए ।
देशभर यातायात ठप्प रहेको अवस्थामा यात्रुको समस्यामा सहयोगी बन्नुपर्नेमा उल्टै कमाउ धन्दामा लाग्दै अहिले रातको समयमा यातायात क्षेत्रमा कालोबजारी मौलाउन पुगेको हो ।
रातिराति चर्को भाडा असुलेर आफूखुसी मान्छेलाई बाहिर पठाउन थालिएको विषयमा महासचिव सिटौलालाई पटक–पटक फोन गर्दा सम्पर्कमा आउन चाहेनन् ।
कलंकी बस्दै आएका गोर्खाका सुजन थापाले कलंकी क्षेत्रमा दिनहुँ रातको समयमा भिडभाड हुने गरेको बताए । लकडाउनको समयमा पनि गाडीको भिडभाड हुने गरेको भन्दै उनले आफूले यात्रु बनेर बुझ्दा बढी भाडा मागिएको बताए ।
रातोपाटीलाई प्राप्त जानकारीअनुसार कलंकीबाट भन्दा कोटेश्वर नाकाबाट धेरै सवारी साधनलाई विपी राजमार्ग हुँदै तराई पठाउने गरिएको छ । यसरी मिलेमतोमा मान्छेलाई बाहिर पठाउँदा सम्बन्धित निकाय भने मौन छ ।
बन्दाबन्दीका समयमा चर्को भाडा असुलेर आफूखुसी मान्छेलाई बाहिर पठाउन थालिएको विषयमा बुझ्दा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले स्थानीय निकायको पत्रबेगर मान्छे बाहिर नपठाइएको दावी गरे ।
उनले भने, ‘स्थानीय निकायको पत्र देखाएर काठमाडौँमा रहेका मान्छे लिन आएको गाडीहरुलाई मात्र पठाइदिने गरेका छौं । अन्यथा अन्य यात्रुबाट पैसा असुलेर गाडीमा हालेर पठाएका छैनौं ।’
दिउँसो पनि पठाउन सकिन्थ्यो, रातिराति नै किन पठाउन पर्यो भन्ने प्रश्नमा डीआईजी पोखरेलले भने, ‘दिउँसोको समयमा एउटा गाडी निस्केपछि अरु गाडी निस्किनसक्छ । रातीको समयमा जुन गाडी जाने हो, त्यही गाडी मात्र सडकमा निस्किन्छ र, जान सजिलो हुन्छ ।’
स्थानीय तहकै पत्रका आधारमा चलाइएको गाडीले समेत चर्को भाडा लिने गरेका छन् । यद्यपि डीआईजी विश्वराज पोखरेलसम्म पनि यस्तो गुनासो आएकाले यसबारे ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकाललाई बोलाएर छलफल गर्ने तयारी गरेका छन् ।
रातिराति चर्को भाडा असुलेर मान्छे बाहिर पठाइएको गुनासो सुन्नमा आइरहेको भन्ने प्रश्नमा ट्राफिक प्रहरी प्रमुख ढकालले चेकजाँच बेगर कुनै पनि गाडीलाई बाहिर जान नदिएको दावी गरे ।
उनले भने, ‘सम्बन्धित निकायको पत्र आएपछि पत्रको आधारमा केही गाडीहरु बाहिर गएको होला । यद्यपी पैसा असुलेर मान्छेलाई बाहिर पठाइएको कुरा हल्ला मात्रै हो ।’
स्रोत : https://ratopati.com/story/133540/2020/6/8/yatayat-mahasangh-
- Get link
- X
- Other Apps
Comments
Post a Comment